मलाई नर्वेजियन पुरुषहरू संसारका उत्कृष्ट पुरुषहरू मध्ये पर्छन् भन्ने लाग्थ्यो, तर त्यो सत्य होइन रहेछ। मेरो श्रीमान् बनेका मान्छेलाई भेट्नु अघि म बैंककको एउटा कारखानामा काम गर्थेँ र उहाँ पटायामा बस्नु हुन्थ्यो। हाम्रो भेट इन्टरनेट मार्फत भयो र अन्ततः एक जोडी बन्यौ।
केही समयपछि हामीले बिहे गर्ने निर्णय गर्यौं। म गरिब परिवारबाट आएकी हुँ, त्यसैले मेरो परिवारको हेरचाह गर्न सक्ने विदेशी श्रीमान् हुनु उहाँसँग विवाह गर्नुको एउटा कारण थियो।
हामी नर्वे सर्यौं, र म नर्वेजियन भाषा सिक्न विद्यालय जान थालें। यो एक कठिन समय थियो। मसँग चालक अनुमति पत्र थिएन, र मेरो श्रीमानले मलाई विद्यालय सम्म पुर्याउनु पर्थ्यो, मलाई पर्खनुपर्थ्यो र फिर्ता ल्याउनु पर्थ्याे। एकतर्फी बाटो एक घण्टाको थियो। केही बेर पछि हामी नजिकै सर्यौं, तर उहाँले मलाई विद्यालय आफै पुर्याउने, पर्खने र ल्याउने जिद्दी गर्नुभयो। म एक्लै हिँडेको उहाँ चाहनु हुन्थिएन।
नर्वे आएदेखि मसँग कमै पैसा थियो। एक पटक मेरो श्रीमानले मलाई खाजाको लागि पैसा दिनुभयो, तर मसँग थोरै पैसा भएकोले मैले खाजा नखाई पैसा बचाएर राखेँ। स्कुलमा मेरा साथीहरूले मलाई जागिर पाउन मद्दत गर्न चाहन्छन्, तर मेरो श्रीमानले भने म काम गर्न सक्दिन भन्नुहुन्छ। उहाँले मेरो लागि सफाई कर्मचारीको रूपमा काम गर्नु उपयुक्त ठान्नु हुन्न।
बरु उहाँले मलाई अर्को काम लगाउनु भयो – ग्यारेज बनाउने। उहाँ मालिक हुनुहुन्थ्यो र मैले सबै काम गर्थें। उहाँ बिरामी भएकोले धेरै काम गर्न सक्नु हुन्थिएन। ग्यारेज बनाएर कमाएको पैसाबाट मलाई केही दिनु हुँदैन थियो।
एक दिन उहाँ घरमा एक्लै हुँदा काम नभएको र झ्याउ लागेको बताउनु भयो, त्यसैले उहाँले कुकुर ल्याउने निर्णय गर्नुभयो। मलाई कुकुर चाहिएको थिएन किनकि म विद्यालयबाट थाकेर आउथे र मेरो गृहकार्य पनि गर्नुपर्ने हुन्थ्यो। उहाँले कुकुरलाई हरेक दिन आफै डुलाउने बताउनु भयो, तर अन्तमा मैले कुकुर र मेरो बूढा श्रीमान् दुवैको हेरचाह गर्नुपर्यो।
मलाई थाहा छैन भविष्यले के ल्याउनेछ। मेरो योजना अर्को विद्यालयमा जाने छ, तर मेरो श्रीमान्ले मैले त्यो गरोस् भन्ने चाहनुहुन्न। उहाँले मलाई अप्ठ्यारो बनाउन झन् धेरै टाढा सर्ने योजना बनाइरहनु भएको छ। म प्रतिरोध गर्न चाहन्छु, तर मलाई थाहा छैन कसरी। परदेशमा बूढो मानिसलाई श्रीमान् बनाएर बाँच्न त्यति सजिलो रहेनछ जति मैले सोचेकी थिएँ।