युलिया, उनका श्रीमान् र उनकी सानी छोरी युक्रेनको एउटा सानो, शान्त गाउँमा बस्थे। युलियालाई हरेक बिहान चराको आवाजले ब्युँझिएको मन पर्थ्यो। घरबाट टाढा बस्छु वा बिहान चराको आवाज बिना ब्युँझन्छु भनेर उनले कहिल्यै सोचेकी थिइनन्।
उनका श्रीमान् सधैँ पर्याप्त पैसा नभएको गुनासो गर्थे र उनले धेरै रक्सी पिउन थाले। उनीहरूले पोर्चुगलमा आफ्नो भाग्य प्रयास गर्ने निर्णय गरे। सायद त्यहाँ उनीहरूले घर बनाउन र आफ्नो परिवारको लागि राम्रो भविष्य बनाउन धेरै पैसा कमाउन सक्छन्।
युलियाले आफ्नो नयाँ घर धेरै छिटो अपनाइन र उनले सफाई कर्मचारीको रूपमा काम गर्न थालिन्। उनका ग्राहकहरूले उनको कडा परिश्रम र उनको विनम्र मनोवृत्तिको धेरै नै प्रशंसा गरे। अर्कोतर्फ, उनका श्रीमानले आफुलाई एक्लो र टाढिएको महसुस गरे। उनको रक्सी पिउने समस्याको कारण रोजगारदाताहरूले उनलाई विश्वास गरेनन् र उनलाई काम दिएनन्।
एक दिन ऊ युलियामाथि चिच्याउन र कराउन थाल्यो। त्यसपछि उसले उनलाई धकेल्न थाल्यो। युलियामाथि कराउने र हात उठाउने बानी झन् झन् बढ्यो, विशेष गरी तब जब ऊ रक्सी पिएर आउँथ्यो। युलिया, आफु र छोरी दुबैको लागि डराएकी थिइन्, तर उनलाई के गर्ने हो भन्ने कुरा थाहा थिएन।
जब युलिया अन्ततः भाँचिएको हात लिएर अस्पतालको आकस्मिक कक्षमा जानुपर्यो, उनीहरूले उनलाई पोर्चुगलमा घरेलु हिंसा ठुलो समस्या भएको बताए। उनीहरूले यो अपराध भएको भन्दै प्रहरीमा उजुरी गर्न युलियालाई सुझाव दिए।
युलियाको सहनशक्ति सकिएको थियो र उनी थाकिसकेकी थिइन् र आफ्नी सानी छोरी यस्तो घरमा हुर्कोस् जहाँ उनले हरेक दिन हिंसा देख्नु परोस् भन्ने कदापी चाहँदैन थिइन्। युलियाले महसुस गरिन् कि दुर्व्यवहारका लक्षणहरू त विभिन्न रूपमा त्यहाँ सधैँदेखि नै थिए।
युलिया महिला आश्रयमा गइन्, जहाँ उनले लामो समयको तुलनामा आफूलाई सुरक्षित महसुस गरिन्। उनले त्यस्तो महसुस आफु बिहान चराचुरुङ्गीहरूको आवाजले ब्युँझिएको बेला देखि गरेकी थिइनन्।