Ladda ner PDF
Tillbaka till listan med berättelser

नर्वे आउनु

Skriven av Aamiina

Illustrerad av Julie Cornelia van Walsum

Översatt av Anup Aryal

Uppläst av Sakshi Karmacharya

Språk nepali

Nivå Nivå 5

Läs hela berättelsen

Reading speed

Automatisk avspälning


म र मेरा दुई भाइ सन् २०१६ को डिसेम्बरमा नर्वे आएका थियौं। हामीले गर्मीका लुगा लगाएका थियौँ किनकि हामीले नर्वेमा पनि सोमालियामा जस्तै गर्मी हुन्छ भन्ने सोचेका थियौं। तर हवाई अड्डा पुग्दा हिउँ परिरहेको थियो। मौसम चिसो थियो र हामीलाई जाडो भयो। हामीले केही सुटकेसहरू ल्याएका थियौँ तर तिनमा केवल गर्मीका लुगा मात्र थिए।


चिसो भएतापनि नर्वे आउँदा म निकै खुसी थिएँ। म अन्ततः मेरी आमालाई फेरि भेट्दै थिएँ, जसलाई मैले ६ वर्षदेखि देखेको थिइन। मेरी आमा र उहाँका दुई साथीहरूले हामीलाई भेट्नुभयो। उहाँलाई देखेर हामी खुसीले रोयौँ। हामी आमा बस्ने सानो सहरतिर लाग्यौँ।


आमा बस्ने सहरमा सुरुका दिनहरू धेरै अनौठा थिए। एकातिर चिसो र हिउँ थियो भने अर्कोतिर हेर्न र घुम्न लायक खासै केही थिएन। सडकहरू पूरै खाली थिए। मैले भेटेका थोरै मानिसहरू आफ्नै सुरका र कसैको वास्ता नगर्ने खालका देखिन्थे। सोमालियामा जताततै मानिसहरू थिए, त्यसैले यहाँ सबै कुरा अपरिचित जस्ताे महसुस भयो। मेरी आमा र उहाँका साथीहरूले हामीलाई केही उपहार दिनुभयो र त्यसपछि उहाँले हामीलाई जाडोका लुगाहरू किन्न लैजानुभयो।


क्रिसमसको बिदा पछि म वयस्क शिक्षा केन्द्रमा नर्वेली पाठ्यक्रममा सामेल भएँ। मैले त्यहाँ सामान्य विद्यालयमा अध्ययन सुरु गर्नुअघि दुई वर्षसम्म पढेँ। अहिले म मेरो अध्ययनको अन्तिम वर्षमा छु, र मैले धेरै नयाँ साथीहरू बनाएकी छु। म धेरै मिलनसार छु र अरू मानिसहरूलाई भेट्दा रमाइलो मान्छु।


विद्यालय सकेपछि म स्वयंसेवकहरूद्वारा सञ्चालित केन्द्रमा जान्छु जहाँ मैले मेरो गृहकार्यमा मद्दत पाउँछु। म त्यही केन्द्रमा सिलाई पनि सिक्दै छु।


सोमालियामा म कुरान पाठशाला बाहेक कहिल्यै विद्यालय गएकी थिइन वा कुनै पाठ्यक्रममा सामेल भएकी थिइन। मलाई पढ्न र लेख्न आउँदैन थियो। अहिले मैले सोमाली र नर्वेजियन भाषामा लेख्न सिकेकी छु र अन्य धेरै विषयहरू पनि जानेकी छु। शिक्षाबिना म कोही नभएको महसुस गर्थें। अहिले म ज्ञानी र खुसी महसुस गर्छु।


म अर्को वर्ष स्वास्थ्य तथा युवा विकासको क्षेत्रमा माध्यमिक शिक्षा सुरु गर्दै छु। भविष्यमा म युवा कार्यकर्ता बन्न चाहन्छु। पढाइ सकेपछि स्थायी जागिर पाउने मेरो सपना छ। मलाई गाडी चलाउन सिक्ने र चालक अनुमति पत्र प्राप्त गर्ने पनि चाहना छ।


यदि म सोमालियामै बसेकी भए मलाई लाग्छ कि म अहिले सम्म आमा भइसकेकी हुने थिएँ। सायद मेरा धेरै बच्चाहरू पनि हुने थिए। यदि म सोमालियामै भएकी भए, मैले अहिले जस्तो अवसर पाउने थिइनँ। नर्वेमा बस्न पाउँदा म भाग्यमानी महसुस गर्छु।


Skriven av: Aamiina
Illustrerad av: Julie Cornelia van Walsum
Översatt av: Anup Aryal
Uppläst av: Sakshi Karmacharya
Språk: nepali
Nivå: Nivå 5
Creative Commons Licens
Detta verk är licensierat under en Creative Commons Erkännande 4.0 Internationell Licens.
Valmöjligheter
Tillbaka till listan med berättelser Ladda ner PDF